शिक्षक महासंघको बार्ता पुनः अनिश्चित बनेको छ । आज दिउँसोसम्म बार्तालाई टुंगोमा पुर्याएर आन्दोलनरत शिक्षकहरुलाई बिद्यालय फर्काउने उद्धेश्यले शिक्षा मन्त्री रघुजी पन्त सहितको टोली तयार रहेपनि मन्त्रीको समय पर्खाइमा कटेको छ ।
शिक्षामन्त्री पन्तले आज शिक्षक महासंघको वार्ता टोलीको पर्खाइमा दिन बिताएका हुन् । हिजो मन्त्रालयमा भएको वार्ता सहमति उन्मुख भनिए पनि आजको वार्ता अहिलेसम्म सुरु हुन सकेको छैन ।
मन्त्री पन्तले आज संसद वैठकसमेत हापेर शिक्षकसँगको वार्ता टुंगो पुर्याउने गरी तयारी गरेका थिए । तर, अहिले शिक्षक नेताहरुले आफ्नो फोनसमेत नउठाएको गुनासो मन्त्री पन्तले गरेका छन् ।
हिजो मन्त्रालयमा राति अवेरसम्म बसेको वैठकले केही विषयमा सहमति जुटाएको थियो । आज थप छलफल गरेर टुंगोमा पुग्ने भनिएकोमा शिक्षक महासंघ वार्तामा नआएपछि अन्योल उत्पन्न भएको छ । महासंघले आज वैठक बसेर हिजो भएको सहमतिको खाकालाई परिमार्जन गरेको थियो ।
अबेरसम्म शिक्षक नेताहरु नआएपछि मन्त्रीले आन्दोलनरत चिकित्सक संघसँग वार्ता थालेका छन् । शिक्षा मन्त्रालयमा अहिले भर्खरै चिकित्सकसँगका अध्यक्ष अनिल विक्रम कार्कीसहितको टोलीसँग वार्ता सुरु भएको हो ।
प्रतिक्रिया