चर्चित साहित्यकार विजय चालिसेको उपन्यास युगसन्धी बिमोचन भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार चालिसेको ऋषि वशिष्ठ र विश्वामित्रबिचको वैदिककालको वैचारिक द्वन्द्वमा आधारित उपन्यास युगसन्धिको बिमोचन भएको हो ।
चालिसेद्वारा लिखित उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवं रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरबिचको द्वन्द्व समेटिएको छ । यी प्रसङ्गमा विश्वामित्र ऋषि र वशिष्ठ ऋषिबिचको द्वन्द्वमा कथा अघि बढेको छ ।
बिमोचन कार्यक्रमका समीक्षक गोपी मैनालीले प्राचिन कालमा हुने गरेका जातीय र वर्गीय विभेदलाई स्पष्ट उजागर गर्ने प्रयास भएको टिप्पणी गर्नुभयो । वहाँले युगसन्धि भित्र विजयको मात्र नभई पराजयको पनि कथा भएको बताउनुभयो । अर्का समीक्षक डा. ज्ञानु पाण्डेले युगसन्धि उपन्यासले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भीर प्रश्न र कल्पना जगाउन सक्ने सशक्त कृति भएको दाबी गर्नुभयो । वैदिककालको कथालाई लैङ्गिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको उहाँको भनाई छ ।
लेखक चालिसेले वैदिककालका द्वन्द्वलाई अध्ययन गरेर निकालेको निष्कर्षका आधारमा उपन्यास तयार पारेको बताउनुभयो । कार्यक्रममा समीक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाललगायतले लेखकलाई शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया