आन्दोलनबाट फर्किएका शिक्षक चढेको बस दुर्घटना


काठमाडौँमा झापा तर्फ गईरहेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको यात्रु बाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।

दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ ।

बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।