खुम्बु पर्यटकिय क्षेत्र जोड्ने २ वटा महत्वपुर्ण पुलको निर्माण कार्य अन्तिम चरणमा

पुल निर्माणसँगै पर्यटन तथा कृषि क्षेत्रमा सहजता आउने : अध्यक्ष राई

साझा प्रेस
50
Shares

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा निर्माणाधीन दुई वटा मोटरेवल पुलको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

सदरमुकाम सल्लेरीबाट सगरमाथा क्षेत्र जोड्ने भुङगरा खोला मोटरेवल पुल र त्रिबेणी मोटरेवल पुलको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

संघ, प्रदेश र गाउँपालिका गरी त्रिपक्षीय लागत साझेदारीमा भङगरा खोला मोटरेवल पुल र त्रिबेणी मोटरेबल पुलको निर्माण कार्य भइरहेको माप्य दुधकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार दुई वटा पुल निर्माणका लागि एकमुष्ट ९ करोडमा ठेक्का सम्झौता भई निर्माण भइरहेको छ । भङगरा खोला मोटरेवल पुल निर्माणका लागि संघिय अनुदान र गाउँपालिकाको अनुदान रकम रहेको छ भने त्रिबेणी मोटरेबल पुलका लागि गाउँपालिकाको अनुदान रकम र प्रदेशको समपुरक अनुदानबाट निर्माण भइरहेको छ ।

निर्माण कार्यको जिम्मेवारी पाएको रिडाक नेपाल प्रालिले चालु आर्थिक बर्षभित्र नै निर्माण कार्य सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य राखेको रिडाक नेपालका इन्जिनियर पवन कुमार शाहीले बताए ।

यी दुवै पुल निर्माण पश्चात् आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सदरमुकाम सल्लेरीदेखि सिधा सडक मार्ग हुँदै सगरमाथा क्षेत्र प्रवेश गर्न सहज हुने गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताए । उनका अनुसार पुल निर्माण सम्पन्न भएपश्चात बर्षातको मौषममा बाढीका कारण सवारी आवतजावतमा आउने समस्याको अन्त्य हुनका साथै नियमित सवारी सञ्चालनमा सहज हुने छ ।

पुल निर्माणले सडक सञ्जालको पहुँच सहज भएसँगै स्थानियको कृषि उत्पादनको निर्यात, अन्य व्यापार व्यवसायमा सहजता आएसँगै आय आर्जनमा वृद्धि गर्ने लक्ष्य पालिकाले राखेको अध्यक्ष राईको भनाई छ ।