परराष्ट्रमन्त्री राणा र ओडिसाका शिक्षा मन्त्रीबिच टेलिफोन संवाद


परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग टेलिफोन संवाद मार्फत नेपाली बिद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युको निष्पक्ष छानविनका लागि आग्रह गरेकी छिन् ।

भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा मन्त्री राणाले ओडिसाका शिक्षा मन्त्रीसँग संवाद गरेकी हुन् ।

सो फोनवार्तामा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडीसा राज्यले गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानविन समिति गठन गरिएको जानकारी गराएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।

साथै उनले त्यहाँस्थित नेपाली विद्यार्थी र अभिभावकलाई आवश्यक परामर्शका लागि अलग्गै ‘हटलाइन’को व्यवस्था गरिएको र घर गएका नेपाली विद्यार्थीलाई होस्टलमा फर्काएर पठनपाठनको व्यवस्था मिलाइने जानकारी समेत गराए ।

मन्त्री सुरजले कलेजमा नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने कर्मचारीलाई बर्खास्त गरी कानुनी कारबाही अघि बढाइएको र नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा छात्रावासमा रहेर पठनपाठन गर्न सक्ने सुरक्षा प्रबन्ध गरिएको पनि स्पष्ट पारे ।

सो घटनाका सन्दर्भमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँदिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेको जनाइएको छ ।

मङ्गलबारमात्र नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँदिल्लीबाट कूटनीतिक कर्मचारी त्यहाँ पुगेका थिए भने भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले कलेज प्रशासनसँग कुराकानी गरेका थिए ।