हुलाकी सडक र मधेशका बिषयमा प्रधानमन्त्री चिन्तितः महासचिव पोखरेल

साझा प्रेस
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेसको असन्तुष्टि सम्बोधनमा अग्रसरता लिनु भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले हुलाकी मार्ग बनाउन भारत सरकारले ढिलाइ गरेपछि ओलीले सो सडक नेपाल सरकार आफैले बनाउने सङ्कल्प सहित सो सडक बनाइएको स्पष्ट पारेका हुन् ।

उनले लेखेका छन् ‘भारत सरकारबाट प्राप्त हुने अनुदानको निरन्तरता रहने गरी नेपाल सरकारले आफैँले सडक बनाउने सङ्कल्प गर्नु भो, भारत सरकारलाई सहमत गराउनु भयो, आज मधेसको लाइफ लाईको रूपमा विकास हुँदै गरेको हुलाकी सडक निर्माणमा नेकपा एमालेका अध्यक्षको महत्त्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन् ।’

हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौ भनिएको मधेस प्रदेशमा आज नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको उल्लेख गर्दै पोखरेलले ‘हुलाकी सडक यति बेला नेपालको सडक सञ्जालको महत्त्वपूर्ण हिस्सा बनेको छ’, भनेर लेखेका छन् । हुलाकी सडक तराईका सदरमुकामहरूलाई आधार बनाएर निर्माण गरिएको सूचना र सञ्चारको परम्परागत मार्ग भएको उनले स्पष्ट पारे ।

खर्च धेरै लाग्ने भएर माधव नेपाल प्रधानमन्त्री हुँदा त्यसको निर्माणको जिम्मा भारत सरकारलाई लगाइएको स्मरण गर्दै महासचिव पोखरेलले लामो समयसम्म उक्त सडक बन्न नसकेको प्रति चिन्ता समेत व्यक्त गरेका छन् । पोखरेलले हुलाकी सडकका नाममा भारतीय सहयोगमा राजनीतिक स्वार्थ आधारित उत्तर–दक्षिणका स्थानीय सडक बनेका प्रति स्थानीय जनताको गुनासो हुनु स्वाभाविक नै भएको उल्लेख गरेका छन् ।