सशस्त्र प्रहरीका चार जना डीआईजीहरुको पदावधि थप गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरुको पदावधि थप गर्ने निर्णय गरेको हो ।
डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्वाङ र शम्भु सुवेदीको पदावधि १ वर्ष थप भएको हो । उनीहरू डीआईजीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जान लागेका थिए ।
सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजी पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चारवर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ ।
पदावधि थप भएसँगै उनीहरूमध्ये एकजना संगठनको नेतृत्वमा पुग्ने सशस्त्र प्रहरीका अधिकृतहरू बताउँछन् । म्याद थप गरिएका अधिकृतहरू नेपाल प्रहरीबाट सशस्त्रमा गएका हुन् । चार जनाको म्याद थप भएसँगै सशस्त्र प्रहरी सेवा आयोगबाट भर्ना भएका अधिकृतहरू नेतृत्वमा पुग्नबाट रोकिने भएका छन् ।
मन्त्रिपरिषद्को सो निर्णयसँगै सिसम–१ का अधिकृतहरू डीआईजी दर्जाबाटै अवकाश हुने अवस्था आउन सक्ने जानकारहरू बताउँछन् ।
प्रतिक्रिया