११ असोज, सोलुखुम्बु । खुम्बु क्षेत्र भ्रमणमा गएका १ बिदेशी सहित ४ जनालाई नेपाल प्रहरीले उद्धार गरेको छ । बिहिबार सोलुखुम्बुको खुम्बुपासाङल्हामू गाउँपालिका वडा नं. ४ स्थित खुम्बिलाबाट १ जना सिंगापुरका नागरिक तथा ३ जना नेपालीको उद्धार गरिएको हो ।
उनिहरुलाई सोलुखुम्बु जिल्लाको सर्वोच्च स्थानमा रहेको अस्थाई प्रहरी चौकी दिङबोचेबाट खटिएको प्रहरी टोलिले उद्धार गरेको हो ।
लगातारको बर्षातले मौषम प्रतिकुल बनी हिमाली क्षेत्रमा हिमपात भएपश्चात भ्रमणमा निस्किएका पर्यटकहरु बाटो भुलेर अपलत्र परेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । भारी हिमपात पश्चात उनिहरु बाटो भुलि करिब २ घण्टा तल झरी टेन्ट टाँगेर बसेको अवस्थामा उनिहरुको उद्धार गरिएको हो । प्रहरीका अनुसार उद्धार गरिएकामा सिंगापुरका अन्दाजी ७५ बर्षिय लिन चुङ हेङका साथमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका कृष्णराज तामाङ, सुनसरी धरानका भिमबहादुर तामाङ तथा सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाका बिपन तामाङ रहेका छन् ।
उद्धार पश्चात उनिहरुलाई लबुचे ल्याई स्वास्थ्य परिक्षण गराईएकोमा सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरिक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया