११ असोज, ललितपुर । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५–० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे ।
तेस्रो मिनेटमा गोल गर्दै चन्द्राले आर्मीलाई सुरुवाती अग्रता दिएकी दिलाइन् । खेलको आठौं मिनेटमा विमलाले अग्रता दोब्बर बनाउदा १२औं मिनेटमा अमिषाले गोल गरिन् । खेलको ५७औं दिपा राई र ६६औं मिनेटमा दिपा शाहीले गोल गर्दा आर्मीले सहज जित निकाल्यो । जितपछि ९ खेलमा १९ अंक जोड्दै आर्मी दोस्रो स्थान रह्यो । १ खेल कम खेलेको नेपाल पुलिस क्लब १८ अंकसहित तेस्रो स्थानमा छ । कर्णालीले ९ खेलबाट ७ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ ।
आजै भएको पहिलो खेलमा रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको खेलमा बागमतीमाथि एपिएफले ७–० को सहज जित हात पारेको थियो ।
एपिएफलाई जित दिलाउन रश्मीले ४, अनिता बस्नेत र सविता राना मगरले समान १ गोल गरेका थिए । बागमतीले १ गोल आत्मघातीका रुपमा गरेको थियो । खेलको ३५औं मिनेटमा रश्मीले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । ४०औं मिनेटमा सुनिता भुषालले आत्मघाती गोल गर्दै एपिएफको अग्रता दोब्बर भयो । अनिताले एपिएफलाई ४७औं मिनेटमा गोल गर्दै ३–० को अवस्थामा पुर्याइन् ।
रश्मीले ५७औं र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । रश्मीले ८८औं मिनेटमा गोल गर्दै एपिएफको अग्रता ६–० मा पुर्याइन् । इन्ज्युरी समयमा गोल गर्दै सविताले एपिएफलाई जित अन्तरलाई फराकिलो पारिन् । जितपछि ९ खेलमा २५ अंक जोड्दै एपिएफ शीर्ष स्थान रह्यो । बागमतीले समान खेलबाट १० अंकका साथ छैटौं स्थानमा रहेर लिग सकाएको छ ।
प्रतिक्रिया