प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सोचे अनुुसार र योजना बनाएअनुसार काम गर्न नसकेको प्रति असन्तुष्टी जनाएका छन् ।
प्रथम चैमासिक समिक्षा बैठकमा उपस्थित मन्त्री तथा सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीलले सोचेजति काम नभएकाले विद्यमान स्थितिमा परिवर्तन ल्याउनैपर्नेमा जोड दिएका हुन् ।
विद्यमान स्थितिमा परिवर्तन ल्याउने गरी प्रभावकारी रूपमा काम गर्न प्रधानमन्त्रीले मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।
स्रोतको सुनिश्चितताबिना अघिल्लो सरकारबाट प्रस्तुत बजेट आएकाले पनि काम गर्न सहज नभएको उल्लेख गर्दै उनले बजेटको समीक्षा गर्न सकिने तर काम गर्ने शैलीमा भने आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरूसहितको बैठकमा प्रधानमन्त्री ओलीले बजेट र कार्यक्रमका विसङ्गतिलाई व्यवस्थापन गर्नुपरेको बताउँदै ११ हजार नक्कली आयोजना ल्याइएको र बहुवर्षीय खालका योजनामा यस वर्ष रू २० लाख मात्रै बजेट राख्ने खालका विकृति अन्त्य हुनुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले अब अल्याङ्टल्याङ गर्ने समय नरहेकाले कुनै मन्त्रीको कार्य सक्षमता प्रभावकारी नभएमा त्यसमा पनि समीक्षा गर्नुपर्ने र कर्मचारीले उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री, मन्त्री र सचिवले सकारात्मक परिणामका लागि आफ्नो ठाउँबाट हस्तक्षेप गर्नुपर्ने र काम नगर्ने कर्मचारीलाई सरूवा मात्रै नगरेर कारबाही गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।
प्रधानमन्त्री ओलीले सरकारका उपलब्धिहरू मानिसका व्यवहारमा देखिनुपर्ने भएकाले समीक्षा र बैठकहरूले मात्रै परिणाम नदिने भएकाले उत्पादन र परिवर्तनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
प्रतिक्रिया