वन तथा भूसंरक्षण विभागका वन अधिकृत सवनाम पाठकले रेड पाण्डा संरक्षणका लागि सबै जनाले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् । हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले रेड पाण्डा हाब्रेको अवैध व्यापार तथा नियन्त्रण सम्बन्धी जानकारी दिने उद्देश्यले मंगलबार सोलुखुम्बुमा आयोजना गरेको कार्यशाला गोष्ठीका क्रममा अधिकृत पाठकले यस्तो आग्रह गरेका हुन् ।
वन अधिकृत पाठकले रेड पाण्डा देशको गहना भएकाले यसको चोरी सिकारी तथा अवैध कारोबारलाई रोक्न सरोकारवाला निकायले पहल गर्नुपर्ने बताउँदै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याए । रेड पाण्डा संरक्षणको लागि राज्यको छुटै विशेष संयन्त्र नभए पनि रेडपाण्डा नेटवर्कले संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
नेपाल सरकारका पूर्व सचिव एवं विज्ञ शङ्कर कोइरालाले नेपालमा रेडपाण्डाको अवैध कारोबार नियन्त्रण सम्बन्धी कानुनी व्यवस्था, रेड पाण्डा संरक्षण कार्य योजना साथै रेड पाण्डाको अवैध कारोबार सम्बन्धी कसुरको विषयमा प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए ।
उनले रेड पाण्डा अपराध नियन्त्रणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको विषयमा जानकारी गराउँदै रेड पाण्डा कुनै पनि प्रयोजनमा प्रयोग नहुने भए तापनि यसको अवैध व्यापार भने बढ्दो रूपमा रहेको बताए । काठमाडौँको विभिन्न स्थानबाट रेड पाण्डाको अवैध व्यापार हुने गरेको अध्ययनले देखाएको जानकारी गराउँदै यसको संरक्षण तथा नियन्त्रणका लागि सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
नेपाल, भारत, चीन, भुटान, म्यानमार र लाओस देशहरूमा रेड पाण्डा पाइने गरेको छ । सोलुखुम्बुमा हाब्रेको संख्या यकिन नभए पनि जिल्लाको लिखुपिके, सोताङ र महाकुलुङका केही जङ्गलहरूमा रेड पाण्डा पाइने डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आयोजक वातावरणीय सेवा सोलुखुम्बुका अध्यक्ष ङिमा तेन्डुप शेर्पाले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि अन्तर्राष्ट्रिय संस्था रेडपाण्डा नेटवर्कले अभियानका साथ रचनात्मक तथा सचेतनामूलक कार्यक्रम सुरु गरेको बताए । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका, लिखुपिके, सोताङ र महाकुलुङ गाउँपालिका गरी ४ वटा स्थानीय तहमा वातावरणीय सेवा सोलुखुम्बुले रेडपाण्डाको संरक्षण तथा वासस्थान संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरेको वहाँले जानकारी दिए ।
रेडपाण्डा संरक्षणका लागि विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन साथै स्थानीयका लागि आयमूलक कार्यक्रम गरिने योजना रहेको अध्यक्ष शेर्पाको भनाइ छ ।
हिमाली स्वास्थ्य र वातावरणीय सेवा सोलुखुम्बुले रेड पाण्डा (हाब्रे) को अवैध व्यापार तथा नियन्त्रण सम्बन्धी जानकारी दिने उद्देश्यले सल्लेरीमा आयोजित कार्यशाला गोष्ठीमा सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धी माया तामाङ, प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरे, प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे, जिल्ला सरकारी वकिल कार्यालय सोलुखुम्बुका जिल्ला न्यायाधिवत्ता बुद्धिलाल श्रेष्ठ, डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाह लगायत सरोकारवाला निकाय साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया