मंशिर १६ गतेको उप निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदान स्थललाई सहज रुपमा प्रयोग योग्य बनाउन पहल थालेको छ ।
आयोगले उप निर्वाचन हुने सबै स्थानिय तहमा मतदान योग्य वातावरण बनाउन पहल थालेको हो । आयोगको आईतबारको बैठकले मङ्सिर १३ गतेदेखि मङ्सिर १६ गतेको मतदान सम्पन्न नभएसम्म मतदानस्थलका रूपमा कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान वा अन्य सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ ।
आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई वातावरण सहज बनाई निर्वाचन सम्पन्न गराउन निर्देशन दिने निर्णय गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिईन् ।
उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने आयोगले निर्णय गरेको छ ।
उपनिर्वाचन हुने स्थानीय तहका मतदातालाई बिदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्लास्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई आह्वान गर्ने आयोगले निर्णय गरेको छ ।
प्रतिक्रिया