यस वर्षको विश्वप्रसिद्ध ‘सिड्नी शान्ति पुरस्कार’ रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) लाई प्रदान गरिएको छ ।
सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गर्नुभएको आइएफआरसीले जनाएको छ ।
सिड्नी विश्वविद्यालय अष्ट्रेलिया, सिड्नी पिस फाउण्डेशनद्वारा स्थापित सो पुरस्कार विश्वमा शान्ति, न्याय, अहिंसा तथा मानवीय सेवामा अतुलनीय योगदान पुर्याए बापत हरेक वर्ष प्रदान गरिन्छ ।
आइएफआरसीको सर्वाेच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुन् । रेडक्रस तथा रेडक्रिसेन्ट अभियानलाई सशक्त बनाउन उहाँले अतुलनीय नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।
यही नेतृत्वका कारण महासचिवमा दोस्रो कार्यकालका लागि पनि सेवारत हुनुहुन्छ । विशेष गरेर कोरोना महामारीका समयमा सङ्कटासन्न समुदायलाई मानवीय सहयोगका लागि विश्वव्यापी रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक रहेको बताइएको छ । आइएफआरसीमा नेपाल रेडक्रससहित विश्वका एक सय ९१ देशका रेडक्रस आवद्ध छन् ।
प्रतिक्रिया