जलवायू परिवर्तन रोकथामका लागि नेपाल पुर्ण प्रतिवद्ध छः राष्ट्रपति पौडेल

साझा प्रेस
50
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायू परिवर्तन सम्बन्धि पेरिस सम्झौता प्रति नेपाल पुर्ण प्रतिवद्ध रहेको बताएका छन् ।

कोप शिखर सम्मेलनमा भाग लिन अजरबैजानमा रहेका राष्ट्रपति पौडेलले अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग भएको भेटवार्तामा पेरिस सम्झौता कार्यान्वयनसँगै विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अघि नै पुरा हुने विश्वास व्यक्त गरे ।

भेटमा राष्ट्रपति पौडेलले भने, “जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्वता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगावै सन् २०४५ सम्म नेपालले शून्य कार्वन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरुलाई जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरु पूरा गर्न आग्रह गर्दछौंँ ।”

राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव बेहोरी रहेको जानकारी गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । हिमालमा भएको हिउँ पग्लिरहेको, तल्लो तटीय क्षेत्रका जनसङ्ख्यालाई स्वच्छ खानेपानीको स्रोत घटीरहेको एवं जलवायु परिवर्तनबाट सृजित प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको जानकारी दिँदै यसवर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गराएका छन् ।

भेटमा राष्ट्रपति पौडेलले अजरबैजानका समकक्षी अलियेफको नेतृत्वमा भइरहेको कोप–२९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपाल जस्ता अत्यन्त न्यून कार्वन उत्सर्जन गर्ने तर जलवायु परिवर्वनको ठूलो असर व्यहोरिरहेका मुलुकको हकहित संरक्षण गर्ने विश्वास व्यक्त गरे ।

यही कात्तिक २६ गतेदेखि सुरु भएको सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ । राष्ट्रपति पौडेल स्वदेश फर्कने क्रममा आजै बाकुबाट कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको राष्ट्रपति सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल शुक्रबार बिहान काठमाडौँ आईपुग्ने कार्यतालिका छ ।
–––