पेट्रोलियम पदार्थको अन्वेषणको कार्य ८० प्रतिशत सम्पन्न

साझा प्रेस
0
Shares

स्वदेशमा नै पेट्रोलियम पदार्थको सम्भावना देखिएपछि दैलेखमा अन्वेषणको कार्य निरन्तर संचालनमा रहेको छ ।

दैलेख जिल्लाको भैरवी गाउँपालिकामा रहेको जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य भईरहेको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

प्रमुख त्रिपाठीका अनुसार हालसम्म अन्वेषणको कार्य करिब ८० प्रतिशत सम्पन्न भईसकेको छ । चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म लगभग ८० प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको छ ।

चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भए नभएको पत्ता लाग्ने छ । चीन सरकारको २ अर्ब ५० करोड रुपैंया अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेका हुन् ।