सुशासनका क्षेत्रमा सघाउन सञ्चार क्षेत्रलाई सञ्चार मन्त्रीको आग्रह

साझा प्रेस
0
Shares

सुशासनका लागि आलोचनासहित सही सूचना दिएर सघाउन नेपाली सञ्चार क्षेत्रलाई आग्रह गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयबाटै सञ्चार जगतलाई सरकार आलोचना स्वीकार गर्न तयार रहेको भन्दै यस्तो आग्रह गरेका हुन ।

‘यो सरकार आलोचनालाई सहज रुपमा लिएर आफैबाट कमी कमजोरी भएको रहेछ भने पनि सच्याउन तयार रहेको लोकतान्त्रिक सरकार हो । नेपाली सञ्चार क्षेत्रबाट सुशासनको पक्षमा सही सूचना र कामको सिलसिलामा सरकारबाट भएको कमी कमजोरीमाथि आलोचना होस भन्ने चाहन्छ, सही सूचनाका आधारमा तपाईहरुबाट हुने आलोचनालाई सरकारले सहर्ष स्वीकार गर्छ,’ मन्त्री गुरुङले भने ।

उनले सही आलोचना र सही सूचनाले सुशासनको पक्षमा काम गर्ने तथा सरकारलाई थप काम गर्न सघाउने बताए । ‘सूचना सही होस, सुशासनको पक्षमा दृढतापुर्वक सञ्चार जगत उभियोस, हामी सरकारमा बसेकाहरुले गलत काम गर्यौं भने आलोचना होस, मुलुकलाई सही रुपमा अगाडि बढाउने बाटो यही हो,’ मन्त्री गुरुङले भने ।

‘बिगतका सरकारहरुले सहकारीमा पारदर्शिताको पाटोलाई दृढतापुर्वक अघि बढाएको भए सहकारीमा यति धेरै बिसंगति, ठगी हुनु नै थिएन,’ मन्त्री गुरुङले भने, ‘त्यसेले सरकारकै तर्फबाट भन्छु कि सुशासनको पक्षमा सञ्चार क्षेत्र निर्मम हुनुपर्छ, निर्मम होस पनि । सरकार आलोचनाको अपेक्षा गर्छ तर अफवाह नहोस, सही सूचना देओस भन्ने चाहन्छ ।’

महासंघकी कार्यबहाक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघका पूर्वसभापतिहरु डा. महेन्द्र बिष्ट, तारानाथ दाहाल, बिष्णु निष्ठुरी, धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्मा, सञ्चारिका समुहकी अध्यक्ष बिमला लुम्खेवा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खडकाले शुभकामना दिएका थिए । शुभकामनाको क्रममा कार्यबहाक अध्यक्ष अधिकारीसहित पूर्वअध्यक्षहरुले महासंघको गरिमा जोगाउन सवै लाग्नुपर्ने बताए ।