भ्रष्टाचार नियन्त्रण तथा सुशासनको क्षेत्रमा कुनै सम्झौता हुन्नः प्रजिअ घिमिरे

साझा प्रेस
800
Shares

सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्नु नै आफ्नो प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।

ईलाका प्रशासन कार्यालय, धरानबाट सोलुखुम्बु सरुवा भई आएका प्रजिअ घिमिरेले मंगलबार जिल्लामा रहेका पत्रकार तथा संचारकर्मीहरुसँगको परिचयात्मक कार्यक्रममा सोलुखुम्बुको अख्तियार दुरुपयोग सम्बन्धि घटनाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय अन्र्तगत नै रहेकाले पनि यसको पुर्ण कार्यान्वयनका लागि आफु लागि पर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले जिल्लाको शान्ति सुरक्षा, सुचनाको पारदर्शीता तथा जिल्लाको समग्र विकासमा समन्वय गर्न आफ्नो तर्फबाट हरसम्भव प्रयास रहने समेत बताए ।

सोलुखुम्बु जिल्ला चर्चित पर्यटकिय क्षेत्र भएकाले विश्वभरीका पर्यटक घुम्न आउँदा सुरक्षाको दृष्टिकोणले उपर्युक्त छ भन्ने आभाष दिलाउन सुरक्षा निकाय तथा सम्बन्धित क्षेत्रसँगको समन्वयलाई समेत ध्यानमा राख्ने प्रजिअ घिमिरेले बताए ।

कार्यक्रममा उपस्थित पत्रकारहरुले समग्र जिल्लाको अवस्था बारे प्रजिअलाई जानकारी गराउँदै सुचनाको उपलब्धतालाई सहज बनाउन सकारात्मक भुमिका निर्वाह हुने आशा ब्यक्त गरे । जिल्लास्थित सरकारी कार्यालयमा सुचना अधिकारीको ब्यवस्था भएपनि कतिपय सुचनाहरु समयमा नै उपलब्ध नहुने तथा माग गरिएका सुचनाहरु समेत प्राप्त नहुने समस्या रहेका उनिहरुको गुनासो रहेको थियो ।

यसैबिच प्रजिअ खनालले आजै जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग समेत अन्र्तक्रिया गरेका छन् ।