साफ सेमिफाईनलमा नेपाल र भारतबिच प्रतिस्पर्धा

साझा प्रेस
1k
Shares

नेपालले आज साफ वुमन्स च्याम्पियनसिप २०२४ को सेमिफाईनलमा भारतको सामना गर्दैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमा बेलुकी साँढे ६ बजे हुने खेलमा नेपालले भारतको प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले आजको खेलमा अघिल्लो बर्षमा झैं सर्वाधिक ५ पटकको च्याम्पियन भारतलाई पराजित गर्दै फाईनलको यात्रा तय गर्ने लक्ष्य राखेको छ ।

आजै साँढे १ बजे हुने अर्को सेमिफाईनल खेलमा साविक विजेता बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

घरेलु टोली नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारत समूह ए को उपविजेताको रुपमा सेमिफाइनल पुगेको हो ।

नेपाल आफ्नो समूहमा २ जित १ बराबरी नतिजा निकाल्दै अपराजित रह्यो । नेपाल र भुटानले समान ७ अंक जोडे पनि गोलअन्तरमा अघि रहँदै नेपाल समूह विजेता बनेको हो ।

नेपालका लागि रेखा पौडेलले अहिलेसम्म सर्वाधिक ७ गोल गरेकी छन् । उनले माल्दिभ्स विरुद्ध ५ गोल गरेकी थिइन् । भुटानकी देकी लाजोम र रेखा समान ७ गोलसहित सर्वाधिक गोल गर्नेमा अगाडि छन् ।

नेपाल र भारतबीच हेड टु हेडको कुरा गर्दा अहिलेसम्म १७ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले २ खेल मात्र जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो । तर भारत विरुद्धको पछिल्ला तीन खेलमा भने नेपाल अपराजित छ ।