अमेरिका विरुद्धको सिरिज नेपालद्धारा क्लिन स्विप

साझा प्रेस
50
Shares

नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।

आइतवार भएको तेस्रो टि ट्वान्टी खेलमा ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

अमेरिकाले दिएको १ सय ५७ रनको मध्यम लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले ।

कुशल मल्लले नट आउट ४४ रन बनाए । यस सिरिजमा पहिलो पटक मौका पाएका कुशलले कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि नट आउट ७४ रनको साझेदारी गरे । भुर्तेलले ४० रन जोडे ।
अमेरिका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए ।

त्यसअघि अमेरिकाको ग्राण्ड प्रेरीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टि ट्वान्टी आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यस सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।