गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको बताएका छन्।
७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले प्रहरीको सेवासुविधा, सरुवा–बढुवा र कार्यसम्पादनलाई व्यवस्थित गर्न कानुनी सुधार अघि बढाइएको बताए।
गुरुङका अनुसार प्रहरी कर्मचारीका लागि आवास, स्वास्थ्यलगायतका सेवासुविधा थप गर्नुका साथै सबै प्रहरी कार्यालयलाई डिजिटल बनाउने काम भइरहेको छ। प्रहरीको आवश्यक पूर्वाधार र प्रविधिमा लगानी गर्नु सरकारको प्राथमिकता रहेको उनले बताए।
उनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल फोरेन्सिक, साइबर तथा वित्तीय अपराध अनुसन्धान र डीएनए प्रोफाइलिङजस्ता क्षेत्रमा प्रहरीको क्षमता अभिवृद्धि गर्न निर्देशन दिए। अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धानका लागि क्षेत्रीय सहकार्य र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने स्पष्ट पार्दै सूचनाको गोपनीयता कायम राख्न निर्देशन दिए। साथै, प्रहरीको व्यवहार नागरिकमैत्री बनाउन, निष्पक्ष अनुसन्धान गर्न र अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन आग्रह गरे।
उनले विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था गरिएको र नेपाल प्रहरीमा दरबन्दी थप गर्न प्रस्ताव गरिएको जानकारीसमेत दिए।

प्रतिक्रिया