नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतगणना शुक्रबार बिहान सकिएको छ। निर्वाचन समितिले सबै पदको मतपरिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार असोज २३ गते रातिदेखि सुरु भएको मतगणना झन्डै एक सातामा सम्पन्न भएको हो। मधेश र बागमती प्रदेशका केन्द्रीय सदस्यको मतगणना सकिएसँगै सबै पदको गणना पूरा भएको उनले जानकारी दिए।
यसपटक सात हजार ३९२ मतदाताको झन्डै एक लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक एक सातामै सकिएको कटुवालले बताए।
मतदान तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको उनको भनाइ छ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ। त्यसपछि बस्ने नयाँ कार्यसमितिको पहिलो बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे पनि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया