टी–२० विश्वकप छनोट : कुवेत र साउदी अरेबिया च्याम्पियन


कुवेत र साउदी अरेबिया आईसीसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत एसिया सब–रिजनल छनोटका च्याम्पियन बनेका छन्। दुवै टोलीले मलेसियामा सम्पन्न प्रतियोगितामा उपाधि जित्दै सन् २०२७ को एसिया क्षेत्रीय फाइनलमा स्थान बनाएका छन्।

छनोट ‘ए’ मा कुवेत च्याम्पियन बन्दा बहराइन दोस्रो र कतार तेस्रो भए। त्यस्तै, छनोट ‘बी’ मा साउदी अरेबिया पहिलो, हङकङ दोस्रो र आयोजक मलेसिया तेस्रो बने।

दुवै प्रतियोगिताबाट कुवेत, बहराइन, कतार, साउदी अरेबिया, हङकङ र मलेसियाले क्षेत्रीय फाइनलमा स्थान सुरक्षित गरेका छन्।

छनोट ‘ए’ मा कुवेतका अदनान इद्रिस उत्कृष्ट खेलाडी घोषित भए भने छनोट ‘बी’ मा मलेसियाका विरानदीप सिंहले उक्त अवार्ड जिते।

कुवेतका कप्तान मोहम्मद अस्लमले उपाधि जित्नु टोलीका लागि गर्वको क्षण भएको बताए। स्पष्ट योजना, अनुशासित तयारी, खेलाडीमाथिको विश्वास र बलियो टोली संस्कृतिका कारण सफलता मिलेको उनको भनाइ थियो।

त्यस्तै, साउदी अरेबियाका कप्तान वाजी उल हसनले पहिलो आईसीसी प्रतियोगिताको उपाधि जित्नु आफ्नो देशको क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल, यूकेएम ओभल र एसटीसी ओभलमा आयोजित दुवै प्रतियोगितामा १३ टोलीले कुल ३६ खेल खेलेका थिए।

क्षेत्रीय फाइनलबाट सन् २०२८ को आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने टोलीको टुंगो लाग्नेछ। नेपालले भने सिधै ग्लोबल छनोट खेल्नेछ।