सुदूरपश्चिममा साढे चार हजार सुरक्षाकर्मी परिचालन, सीमामा विशेष निगरानी


दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा ४ हजार ५०५ प्रहरी परिचालन गरिने भएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईका अनुसार प्रदेशका नौवटै जिल्लामा प्रहरी परिचालन गरी चोरी, लुटपाट, ठगी, जुवातास, लागूऔषध कारोबार तथा सीमा अपराध नियन्त्रण गरिनेछ।

चाडपर्वमा घर फर्किने यात्रुको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न सार्वजनिक यातायातमा हुने ठगी, बढी भाडा असुली तथा दुर्व्यवहार रोक्न निगरानी बढाइनेछ। यसका लागि प्रदेशका विभिन्न स्थानमा १४२ वटा यात्रु सहायता कक्ष सञ्चालनमा राखिएका छन् भने भारतसँग जोडिएका सीमा नाकामा थप ४९ वटा नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ।

सीमा नाकाबाट हुने भन्सार छली, चोरी, तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रण गर्न सीमा क्षेत्रमा निगरानी बढाइएको छ। सीमा अपराध तथा तस्करी नियन्त्रणका लागि छुट्टै एकाइसमेत गठन गरी परिचालन गरिएको छ।

चाडपर्वका बेला जुवातास, अवैध मदिरा तथा पटका कारोबार, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रणमा पनि प्रहरीले ध्यान दिनेछ। बजार, बसपार्क, बैंक तथा वित्तीय संस्था र व्यापारिक केन्द्रमा सुरक्षा निगरानी बढाइनेछ।

सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा यात्रुसँग बढी भाडा असुल्ने गतिविधिमाथि कारबाही गरिनेछ।

प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, विशेष सुरक्षा गण महेन्द्रनगर, प्रदेश प्रहरी गण धनगढी र मातहतका प्रहरी इकाइलाई परिचालन गरी चाडपर्व अवधिभर शान्ति सुरक्षा कायम राख्ने प्रहरीले जनाएको छ।