थुलुङ दुधकोशीमा सुशासन र पारदर्शी सेवा प्रवाहमा जोड


स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सुशासन प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा गाउँपालिकाको मुक्लीस्थित सभाहलमा आयोजित कार्यक्रम कार्यवाहक अध्यक्ष सविता राईको सभाध्यक्षतामा सम्पन्न भएको हो।गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी कृष्ण गिरिले सहजीकरण गर्नुभएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।

कार्यक्रममा सुशासनको अवधारणा, सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीबोधका साथै स्थानीय तहको प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा कार्यवाहक अध्यक्ष राईले सुशासन कायम गर्न जनप्रतिनिधि तथा कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताइन्। उनले यस्ता अभिमुखीकरण कार्यक्रमले संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।

नागरिकप्रति उत्तरदायी, पारदर्शी र प्रभावकारी स्थानीय शासन प्रणाली निर्माण गर्दै सार्वजनिक सेवालाई सरल, सहज र नागरिकमैत्री बनाउन कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।