एसियन गेम्सका पदक विजेता खेलाडी पुरस्कृत


जापानको नायोगामा सम्पन्न २०औँ एसियन गेम्समा कांस्यपदक जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार रकम प्राप्त गरेका छन्।

सरकारले खेलकुद विकास नियमावलीअनुसार करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित उनीहरूका प्रशिक्षक तथा व्यवस्थापकको बैंक खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो।

यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले पदक विजेता खेलाडी तथा सम्बन्धित प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो।

निर्णयअनुसार करातेमा कांस्यपदक जितेका तेञ्जिङ शर्माले ६ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्। उनका प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार रुपैयाँ पाएका छन्।

त्यस्तै, कांस्यपदक विजेता महिला कबड्डी टोलीका प्रत्येक खेलाडीले जनही १ लाख ९५ हजार रुपैयाँ पुरस्कार पाएका छन्। टोलीकी मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्दा सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान ६५ हजार रुपैयाँ पाएका छन्।

जापानको नायोगामा आयोजना भएको २०औँ एसियन गेम्समा नेपालले करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीको प्रदर्शनमार्फत कांस्यपदक जितेको थियो। पदक विजेता खेलाडी तथा टोलीसँग सम्बन्धित प्रशिक्षक र व्यवस्थापकलाई प्रोत्साहनस्वरूप सरकारले पुरस्कार उपलब्ध गराएको हो।