प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन र संगठनको प्रोटोकल पालना गर्दै इमानदारीपूर्वक काम गर्न उनले प्रहरी अधिकृतहरूलाई आग्रह गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फेसबुक पेजमा सार्वजनिक गरिएको प्रधानमन्त्री शाहको सम्बोधनअनुसार प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी र अनुशासनलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका छन्।
प्रहरी निरीक्षक आधारभूत तालिमको १ सय ८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्नु प्रहरीको पेशागत सफलताको महत्त्वपूर्ण आधार भएको बताए।

उनले नेपाल प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी रहेको स्मरण गराए। प्रहरीको काम आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी हुनुपर्ने उल्लेख गर्दै उनले कुनै पनि अनुचित प्रभावमा नपरी भेदभावरहित रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गरे।
समयसँगै अपराधका स्वरूप र प्रवृत्ति परिवर्तन भइरहेकाले अनुसन्धानमा सूचना प्रविधिको सही प्रयोग गर्नुपर्नेमा पनि प्रधानमन्त्री शाहले जोड दिएका छन् । अपराध अनुसन्धान निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रमाणमुखी बनाउन प्रविधिको सदुपयोग आवश्यक रहेको उनको भनाइ छ।

प्रहरीको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन सूचना प्रविधिले सहयोग गर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रभावकारी अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
१६ महिने आधारभूत तालिम पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। साथै, चुनौतीपूर्ण प्रहरी सेवामा प्रवेश गर्न सन्तानलाई प्रेरित गर्ने अभिभावक तथा परिवारजनप्रति उनले आभार व्यक्त गरे।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले नवनियुक्त प्रहरी निरीक्षकहरूको कार्यसफलताको कामना गर्दै नागरिकप्रतिको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्ने सन्देश दिएका छन्।


प्रतिक्रिया