नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चमा मुख्य मञ्चसहित आवश्यक संरचना तयार पारेर तयारी अन्तिम चरणमा पुर्याइएको छ।
महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे हुने कांग्रेसले जनाएको छ। असोज १८ गतेदेखि सुरु हुने महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा सहभागी हुन देशका विभिन्न जिल्ला तथा विदेशबाट समेत अधिकांश प्रतिनिधि काठमाडौं आइसकेका छन्। उनीहरूको बसोबासका लागि राजधानीका विभिन्न होटलमा व्यवस्था गरिएको छ।
कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन समारोहपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत निमन्त्रणा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ।
त्यस्तै, भारत, चीन, अमेरिका लगायत विभिन्न देशका राजनीतिक दल तथा विदेशी पाहुनालाई पनि कांग्रेसले निमन्त्रणा गरेको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन् भने अन्य देशका पार्टीका प्रतिनिधि तथा शुभकामना सन्देशसमेत प्राप्त भएको कांग्रेसले जनाएको छ।
महाधिवेशनका लागि खुलामञ्चमा मुख्य मञ्चसँगै बन्दसत्र सञ्चालन गर्न तीनवटा हल तयार पारिएको छ। सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क तथा प्रतिनिधिका लागि भोजनको व्यवस्था भृकुटीमण्डपमा गरिएको छ।
महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। सभापति गगनकुमार थापाले राजनीतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ। यस्तै, उपसभापति, महामन्त्री र कोषाध्यक्षले पनि आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नेछन्।
असोज १९ गते उम्मेदवारी मनोनयनको कार्यक्रम राखिएको छ। त्यसपछि असोज २१ र २२ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने कार्यतालिका छ। मतदान खुलामञ्चसँगै राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ।
यसपटकको महाधिवेशनको नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरिएको छ।

प्रतिक्रिया