लगातारको वर्षाका कारण सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी भएर बग्ने सोलुखोलाको बहाव बढेको छ। खोलामा पानीको सतह बढेसँगै तटीय क्षेत्रका बस्ती तथा सोलुखोलामा रहेका ६ वटा जलविद्युत् आयोजनामा जोखिम बढेको छ।
निरन्तरको वर्षाले सोलुखोलाको बहाव बढ्दै जाँदा खोला किनारमा बसोबास गर्ने स्थानीयवासीमा त्रास बढेको छ। सोलुखोला तथा दूधकोशी नदीका तटीय क्षेत्रमा रहेका बस्तीहरू बाढीको सम्भावित जोखिममा परेका छन्।
यसैबीच, सदरमुकाम सल्लेरी प्रवेश गर्ने मुख्य सडकअन्तर्गत साल्मे–सिस्नेरी क्षेत्रमा पनि लगातार पहिरो खसिरहेको छ। स्थानीय भानुभक्त श्रेष्ठका अनुसार निरन्तरको वर्षाका कारण उक्त क्षेत्रमा पहिरो खस्ने क्रम जारी छ।
पहिरोका कारण सदरमुकाम सल्लेरी प्रवेश गर्ने मुख्य सडकमा आवतजावत जोखिमपूर्ण बनेको छ।
लगातारको वर्षा र नदीमा बढ्दो बहावलाई ध्यानमा राख्दै सोलुखोला तथा दूधकोशी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा रहेकाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

प्रतिक्रिया