भोटेकोशी बाढीका क्रममा रसुवा र नुवाकोटबाट संकलन गरिएका १ सय ६१ शव काठमाडौं ल्याइए पनि हालसम्म २३ वटा शवको मात्रै पहिचान भएको छ । पहिचान भएका शव आफन्तलाई जिम्मा लगाइसकिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन संरक्षणको प्रक्रिया अघि बढाइएको छ ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार पहिचान हुन नसकेका शवको पोस्टमार्टम गरी डीएनए नमुना सुरक्षित राखेर व्यवस्थापन संरक्षण गर्ने तयारी भइरहेको छ । यसका लागि आइतबारदेखि नै पोस्टमार्टम तथा डीएनए स्याम्पल संकलनको काम सुरु गरिएको थियो ।
सोमबार बिहान १० बजेसम्म ५० वटा शव व्यवस्थापनका लागि तयार भइसकेका छन् । बाँकी शवको पनि दिनभर पोस्टमार्टम गरी डीएनए नमुना सुरक्षित राखेपछि व्यवस्थापन गरिने एसपी थापाले जानकारी दिए ।
काठमाडौं ल्याइएका शवहरू त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएका छन् । अस्पतालमा आफन्तको शव पहिचान तथा दाबी गर्न आउनेहरूको भीड लागेको छ । दावीकर्तालाई शव हेर्न दिने र आफन्तको भएको प्रमाणित भएपछि शव जिम्मा लगाउने काम पनि सँगसँगै भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि काठमाडौं ल्याइएका ८५ शवलाई आईसीआरसी प्रोटोकलअनुसार व्यवस्थापन संरक्षण गरिएको थियो । भदौ १६ गते गोकर्णेश्वर नगरपालिका–७, दक्षिणढोकास्थित नेपाल ट्रस्टको स्वामित्वमा रहेको वन क्षेत्रमा ती शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो ।
व्यवस्थापन गरिएका शवहरूको डीएनए नमुना सुरक्षित राखिएकाले भविष्यमा कसैले तीमध्ये कुनै शव आफ्नो आफन्तको भएको दाबी गरेमा दावीकर्ताको समेत डीएनए नमुना संकलन गरिनेछ । दुवै नमुना मेल खाएमा व्यवस्थापन गरिएको शव उत्खनन गरी सम्बन्धित आफन्तलाई बुझाउने व्यवस्था रहेको एसपी थापाले बताए ।
प्रहरीका अनुसार व्यवस्थापन गरिएका शवहरू नगल्ने गरी सुरक्षित राखिएको छ । पहिचान हुन नसकेका थप शवहरूलाई पनि सोही वन क्षेत्रमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया