माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्त हेलिकप्टरमार्फत घटनास्थलमा


रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेकाहरूका आफन्तलाई दुई वटा हेलिकप्टरमार्फत घटनास्थलतर्फ लगिएको छ।

आफन्तहरूले पाँच दिनसम्म पनि आफ्ना परिवारजनको अवस्थाबारे स्पष्ट जानकारी नपाएको भन्दै काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका थिए। कम्पनी र पीडित पक्षबीच सहमति भएपछि उनीहरूलाई घटनास्थल पुग्ने व्यवस्था गरिएको हो।

आफन्तहरूले घटनास्थल पुगेर आफ्ना परिवारजनको अवस्था, खोज तथा उद्धार कार्यको प्रगति र बाढीबाट आयोजनामा पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछन्।

कम्पनी र पीडित पक्षबीच भएको सहमतिअनुसार खोज तथा उद्धारका लागि हेलिकप्टर र उद्धार टोली उपलब्ध गराउने, घटनास्थलसम्म आवश्यक यातायातको व्यवस्था गर्ने तथा घटनास्थल जाने आफन्तको खर्च कम्पनीले बेहोर्ने भएको छ।

त्यस्तै, आयोजनामा कार्यरत सम्पूर्ण कर्मचारी तथा कामदारको अवस्थाको विवरण, घटनाको दिनको सीसीटीभी फुटेज र कम्पनीले तयार गरेको एक्सन प्लान पीडित पक्षलाई उपलब्ध गराउने सहमति भएको छ।

बाढी आएको दिनदेखि नै कम्पनीले आयोजनास्थलमा रहेका व्यक्तिहरूको अवस्थाबारे पर्याप्त जानकारी नदिएको भन्दै आफन्तहरू आक्रोशित बनेका थिए। उनीहरूले ‘जीवित भए उद्धार गर्न र नभए शव उपलब्ध गराउन’ माग गर्दै आएका छन्।

माथिल्लो त्रिशूली–१ नुवाकोटमा निर्माणाधीन २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो। बाढीपछि आयोजनाको सुरुङ तथा मैलुङ क्षेत्र प्रभावित भएको बताइएको छ।