राष्ट्रिय युवा सङ्घका नेता तथा युवा अभियन्ता विशाल खत्रीले माननीय आशिका तामाङलाई सम्बोधन गर्दै खुला पत्र लेखेका छन्। देश विपद् र शोकको अवस्थामा रहेका बेला जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरूबीच आरोप–प्रत्यारोपभन्दा पीडितको उद्धार, राहत र सेवामा सहकार्य आवश्यक रहेको उनले बताएका छन्।
खत्रीले हालै सार्वजनिक रूपमा देखिएको एक घटनामा आशिका तामाङले वडा अध्यक्षमाथि गरेको व्यवहार र प्रयोग गरेको भाषाप्रति प्रश्न उठाएका छन्। आलोचना र प्रश्न उठाउनु स्वाभाविक भए पनि सार्वजनिक रूपमा जनप्रतिनिधिलाई होच्याउने वा अपमान गर्ने शैलीले समस्या समाधान नहुने उनको भनाइ छ।
पत्रमा धादिङका एक जनप्रतिनिधि विपद्को समयमा हिलो, धुलो र कठिन परिस्थितिका बीच जनताको सेवामा खटिएको तस्वीरलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ। उक्त तस्वीरले विपद् व्यवस्थापन भाषण र क्यामेरामा मात्र नभई प्रत्यक्ष रूपमा मैदानमा उत्रिएर गर्नुपर्ने सन्देश दिएको खत्रीले उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा भाइरल हुनका लागि क्यामराअघि देखिनु र वास्तविक रूपमा जनताको दुःखमा दिनरात खटिनुबीच ठूलो अन्तर रहेको बताएका छन्।
खत्रीले विपद्को समयमा ‘कसले बढी लाइभ गर्यो वा कसको भिडियो भाइरल भयो’ भन्दा पनि कसले कति नागरिकको उद्धार गर्यो, पीडितको आँसु पुछ्यो र राहत पुर्यायो भन्ने कुरा महत्वपूर्ण हुने बताएका छन्।
उनले फरक विचार र कार्यशैली हुन सक्ने भए पनि विपद्को घडीमा सबैले मानवीय संवेदना, जिम्मेवारी र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
‘देश शोकमा रहेको बेला राजनीतिक चर्चा र भाइरल भिडियोभन्दा पीडितको सेवा आवश्यक छ,’ खत्रीले खुला पत्रमार्फत भनेका छन्। उनले गल्ती भए आलोचना र सुधारका लागि दबाब दिन सकिने भए पनि अपमानको भाषा प्रयोग नगरी सहकार्यको भावना अघि बढाउन आग्रह गरेका छन्।

प्रतिक्रिया