२० वर्षपछि इजरायली बस्ती पुनःस्थापित


इजरायलले दुई दशकअघि खाली गराएको कब्जा गरिएको वेस्ट बैंकको कादिम बस्तीमा नयाँ पुस्ताका इजरायली बासिन्दा पुनः फर्किएका छन्।

क्षेत्रीय बस्ती परिषद्का अनुसार बिहीबार तेल अभिभबाट ३० ‘पायोनियर परिवार’ कादिम पुगेका हुन्। उनीहरू साना समूहमा सैन्य सुरक्षासहित बस्ती पुगेका थिए। उनीहरूका गाडीमा इजरायलका निलो–सेता झण्डा फहराइरहेका थिए भने केहीले फर्निचर, ओछ्यान र निर्माण सामग्री बोकेका ट्रेलरसमेत ल्याएका थिए।

कादिमको पुनःस्थापनाको उद्घाटन कार्यक्रममा इजरायलका दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचसहित वरिष्ठ सरकारी अधिकारीहरू सहभागी थिए।

स्मोट्रिचले २१ वर्षअघि उत्तरी सामरियाबाट भएको ‘निष्कासन’ सच्याइएको दाबी गर्दै कादिममा पुनः फर्किएको बताएका छन्।

जेनिन सहरनजिकैको पहाडी क्षेत्रमा रहेको कादिमलाई सन् २००५ मा तत्कालीन इजरायली सरकारले एकतर्फी ‘डिसइन्गेजमेन्ट योजना’ अन्तर्गत खाली गराएको थियो। त्यस क्रममा उत्तरी वेस्ट बैंकका कादिमसहित चार यहुदी बस्ती र गाजापट्टीका सबै यहुदी बस्तीबाट इजरायली बासिन्दा तथा सैनिक हटाइएका थिए।

त्यतिबेला ती बस्तीहरू सुरक्षा गर्न कठिन, महँगो र रणनीतिक रूपमा कम महत्त्वपूर्ण रहेको इजरायली सरकारको तर्क थियो।

तर वर्तमान इजरायली सरकारले कादिमलगायत क्षेत्रमा पुनः बस्ती बसाउन लगाइएको प्रतिबन्ध हटाएपछि बस्ती विस्तारले गति लिएको छ। कादिम सन् २००५ मा खाली गराइएका चार बस्तीमध्ये पुनः खोलिने अन्तिम बस्ती बनेको छ।

पछिल्ला वर्षमा वेस्ट बैंकमा इजरायली बस्ती विस्तार तीव्र बनेको भन्दै आलोचना हुँदै आएको छ। सन् २०२२ को अन्त्यमा वर्तमान सरकार सत्तामा आएयता वेस्ट बैंकमा १०० भन्दा बढी नयाँ बस्ती स्वीकृत गरिएको बीबीसीले जनाएको छ।

यसैबीच, जेनिन आसपास नयाँ बस्ती र सैन्य संरचना निर्माण भइरहेको भन्दै प्यालेस्टिनी पक्षले चिन्ता व्यक्त गरेको छ।

स्थानीय प्यालेस्टिनी किसान तथा बासिन्दाहरूले नयाँ बस्तीका कारण आफ्नो आवागमन, कृषि भूमि र सुरक्षामा असर परेको बताएका छन्। केहीले बस्ती विस्तारसँगै प्यालेस्टिनी घर तथा व्यवसाय भत्काइएको र आफूहरूमा डर बढेको बताएका छन्।

जेनिनका प्यालेस्टिनी अधिकारीहरूले समेत बस्ती विस्तार र सैन्य संरचना निर्माणले क्षेत्रको भूगोल परिवर्तन गर्ने तथा प्यालेस्टिनी बस्तीहरूलाई थप विभाजन गर्ने जोखिम रहेको बताएका छन्।

इजरायली सेनाले भने जाब्रियात क्षेत्रमा निर्माण भइरहेको सैन्य चौकी ‘सञ्चालनात्मक आवश्यकताअनुसार’ निर्माण भइरहेको जनाएको छ।

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा लामो समयदेखि विवाद रहँदै आएको छ। आगामी अक्टोबरमा हुने इजरायली निर्वाचनअघि बस्ती विस्तारको गति अझ बढेको विश्लेषणसमेत गरिएको छ।

कादिममा पुनः बस्ती बसाउने कदमले भने इजरायल–प्यालेस्टाइनबीचको भूमि, सुरक्षा र राजनीतिक विवादलाई थप जटिल बनाउने संकेत देखिएको छ।