बारा, जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले दोस्रो दिन पनि प्रदर्शन जारी राखेका छन्।
पीडित परिवार तथा स्थानीयले बुधबार बिहानदेखि पथलैया–वीरगन्ज सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका थिए। प्रदर्शनकारीले आज पनि बिहानैदेखि टायर बालेर सडक अवरुद्ध गरेका छन्।
बालिका गरिमालाई न्याय दिलाउन र घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय सडकमा उत्रिएका हुन्।
सडक अवरुद्ध भएपछि वीरगन्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन्।
प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको सोही दिन हत्या भएको खुलेको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक आरोपितले बालिकाको हत्या गरेको बयान प्रहरीसमक्ष दिएको जनाइएको छ।
घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयको प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया