विचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेको सांसद सुनारको आरोप


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले विचौलियाहरूले प्रहरी हेडक्वार्टर कब्जा गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी विवरण समितिले मागेको भए पनि अझै प्राप्त भए–नभएकोबारे प्रश्न गरेका हुन्।

उनले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नमा आफू अझै दृढ रहेको बताए। आफूले गरेको प्रश्नबाट कसैको मानमर्दन भएको लागे अदालत गएर मुद्दा हाल्नसमेत उनले चुनौती दिए।

सांसद सुनारले भने, “हामीले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौँ। त्यो आयो कि आएन? फेरि यो बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ। निश्चित विचौलियाले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्।”

उनले प्रहरी महानिरीक्षकलाई समेत लक्षित गर्दै समितिमा आएर आफूहरूसँग जुहारी खेलेको आरोप लगाए। सार्वभौम संसदीय समितिमा आएर सरकारको मानमर्दन हुने गरी प्रस्तुत हुन नहुने उनको भनाइ थियो।

सुनारले आफूले अघिल्लो बैठकमा उठाएको विषयमा कुनै कमजोरी नरहेको दाबी गर्दै आवश्यक परे अदालतमा गएर जवाफ दिन तयार रहेको बताए।

यसअघि समितिको बैठकमा सांसद सुनारको अभिव्यक्ति र प्रस्तुति शैलीलाई लिएर आलोचना भएको थियो। उक्त विषयमा सभामुखले समेत चासो लिएर समितिका सभापति, सचिव तथा प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए।

रास्वपाले पनि सांसदहरूलाई बैठकमा आफ्नो प्रस्तुति शैलीमा मर्यादा कायम गर्न निर्देशन दिएको थियो।