कोशी सरकारमा नेकपाबाट तीन महिला

पाँच मन्त्री र दुई राज्यमन्त्रीको टुंगो


नेकपाले कोशी प्रदेश सरकारमा सहभागी गराउने थप एक मन्त्रीको नामसमेत टुंगो लगाएको छ । राजन किराती र गीता तिम्सिनामध्ये कसलाई सरकारमा पठाउने भन्नेमा केही समय अनिर्णीत रहेको नेकपाले अन्ततः तिम्सिनालाई मन्त्री बनाउने निर्णय गरेको हो ।

पछिल्लो निर्णयसँगै नेकपाबाट कोशी प्रदेश सरकारमा तीन जना महिला सहभागी हुने भएका छन् । पार्टी स्रोतका अनुसार इलामकी खिनु लङ्वा र मोरङकी गीता तिम्सिनालाई मन्त्री तथा सपना दर्जीलाई राज्यमन्त्रीका रूपमा सरकारमा पठाउने निर्णय भएको छ ।

नेकपाबाट जीवन आचार्य र गोम्बु शेर्पा पनि मन्त्री बन्ने भएका छन् । एमालेसँगको मन्त्रालय बाँडफाँटसमेत टुंगिएको बताइएको छ । जसअनुसार खिनु लङ्वाले पर्यटन, वन तथा वातावरण मन्त्रालय, जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालय, गीता तिम्सिनाले सामाजिक विकास मन्त्रालय र गोम्बु शेर्पाले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

सत्ता समीकरणमा भएको परिवर्तनसँगै कोशी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर गर्ने तयारी गरिएको हो । यसअघि सामाजिक विकासमन्त्री रहेका एमालेका रामप्रसाद महतोलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

त्यस्तै, यसअघिका आन्तरिक मामिला मन्त्री इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने र उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्री बनाउने सहमति भएको बताइएको छ ।

नयाँ सत्ता समीकरणअनुसार नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन हुने भएको छ । मन्त्रालय बाँडफाँटसँगै अब नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूको शपथ र औपचारिक जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढ्नेछ।