३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको माग गर्दै अध्यक्ष परिवर्तनको अभियान चलाउनेहरूलाई अराजक गतिविधि नगर्न चेतावनी दिएका छन्।झापा एमालेले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान’ उद्घाटन गर्दै ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीमा स्वीकार्य नहुने बताएका हुन्।ओलीले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दाबी गरे। नेतृत्व परिवर्तनलाई मात्र पुनर्गठन भन्न नमिल्ने भन्दै उनले नीति, गन्तव्य र कार्यक्रम परिवर्तनलाई मात्र वास्तविक पुनर्गठनका रूपमा बुझ्नुपर्ने बताए।आफ्नो नेतृत्वमा पार्टीभित्र कुनै समस्या नरहेको दाबी गर्दै ओलीले विगतमा आफूलाई पार्टी सदस्यविहीन बनाउनेदेखि २०७७ सालमा तत्कालीन नेकपाभित्र भएको विवादसम्मका प्रसंग उल्लेख गरे। आफूले हरेकपटक पार्टी जोगाउँदै आएको उनको दाबी थियो।सम्बोधनका क्रममा ओलीले पार्टी सदस्यहरूले निर्वाचनमा एमालेका उम्मेदवारलाई अपेक्षित मत नदिएको भन्दै असन्तुष्टि जनाए। ‘हाम्रो पार्टीमा सदस्यभन्दा कम भोट आयो, सुन्दा लाज हुन्छ,’ उनले भने।उनले पार्टी सदस्यको नवीकरण गर्दा पार्टीलाई मतदान नगर्नेहरूलाई समेत विचार गर्न निर्देशन दिए। नयाँ सदस्य थप्नुपर्नेमा पनि उनले जोड दिए।ओलीले पार्टीबाट लाभ लिएका केही नेता तथा कार्यकर्ताले नै पार्टीविरुद्ध गुनासो गर्ने गरेको आरोप लगाए। ‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन् । केही नपाएकाले यसपटक पनि भोट हाले, केही पाएकाले यसपटक पनि भोट हालेनन्,’ उनले भने।पार्टीको सुविधा लिएर गुनासो गर्नेहरूलाई ओलीले ‘किर्ना’को संज्ञा दिँदै एमालेभित्रैबाट पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे।आफ्नो सम्बोधनमा पार्टीभित्र लोकतन्त्र जीवित रहेको र सबैका कुरा सुन्ने गरिएको दाबी गर्दै ओलीले आफूले कसैलाई हप्काएर बेहोस बनाएको भन्ने प्रचार सही नभएको बताए। ‘कोही मालिक र कोही दास छैन,’ उनले भने।

प्रतिक्रिया