भदौमा वाणिज्य बैंकको ब्याजदर घट्यो

५ बैंकले गरे कटौती


वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक नयाँ दरअनुसार वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर साउनको तुलनामा घटेको छ ।

भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशत कायम भएको छ । साउनमा यस्तो ब्याजदर औसत ४.१६ प्रतिशत थियो । त्यस्तै संस्थागत मुद्दती निक्षेपको औसत ब्याजदर ३.०८ प्रतिशत कायम भएको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ५ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । सिद्धार्थ बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका हुन् । बाँकी १५ बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ब्याजदर प्रभु बैंक र नबिल बैंकले ४.५५ प्रतिशत दिएका छन् । त्यसपछि सानिमा, एनएमबि, माछापुच्छ्रे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन् ।

नेपाल बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.२५ प्रतिशत छ भने नेपाल एसबिआई बैंकले ४.१० प्रतिशत कायम गरेको छ । सिद्धार्थ र एभरेस्ट बैंकको ब्याजदर ४.०५ प्रतिशत रहेको छ ।

अर्कोतर्फ, संस्थागत मुद्दती निक्षेपमा नेपाल बैंकले सबैभन्दा बढी ४ प्रतिशत ब्याजदर कायम गरेको छ । हिमालयन, एनएमबि र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३.५० प्रतिशत ब्याजदर दिएका छन् ।

समग्रमा बैंकिङ प्रणालीमा निक्षेपको ब्याजदर घट्दो क्रममा देखिएको छ । बैंकहरूले नयाँ महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार कुन बैंकमा पैसा राख्दा बढी ब्याज पाइन्छ भन्ने तुलना गर्न उपभोक्तालाई सहज भएको छ ।

भदौको ब्याजदर तालिका