अपराध अनुसन्धान कार्यालयलाई आफैं मुद्दा चलाउने अधिकार


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अब आफूले अनुसन्धान गरेका विशेष प्रकृतिका अपराधमा आफैं जाहेरी दर्ता गरी मुद्दाको प्रक्रिया अघि बढाउन पाउने भएको छ। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार १ साउनदेखि कार्यालयलाई यस्तो अधिकार प्राप्त भएको हो।

यसअघि अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरी पक्राउ गरेका अभियुक्त तथा संकलित प्रमाणसहितको फाइल सम्बन्धित जिल्ला प्रहरी परिसर वा प्रहरी वृत्तमा पठाउने गरेको थियो। त्यसपछि सम्बन्धित युनिटले जाहेरी दर्ता गरी मुद्दाको प्रक्रिया अघि बढाउँदै आएको थियो। अनुसन्धान गर्ने एउटा कार्यालय र मुद्दाको प्रक्रिया अघि बढाउने अर्को कार्यालय हुँदा दोहोरोपन देखिनुका साथै अनुसन्धान र अभियोजनबीच समन्वय कमजोर हुने अवस्था रहेको भन्दै अपराध अनुसन्धान कार्यालयले लामो समयदेखि आफैं मुद्दा चलाउने अधिकार माग गर्दै आएको थियो।

आफूले अनुसन्धान गरेर पक्राउ गरेका व्यक्तिमाथि मुद्दाको प्रक्रिया पनि आफ्नै कार्यालयबाट अघि बढाउँदा अनुसन्धानको निरन्तरता र प्रमाणको व्यवस्थापन प्रभावकारी हुने प्रहरी अधिकारीहरूको भनाइ छ। यही अवस्थालाई मध्यनजर गर्दै अपराध अनुसन्धान कार्यालयले माग गरेको प्रस्ताव उपत्यका प्रहरी कार्यालय रानीपोखरी हुँदै प्रहरी प्रधान कार्यालय पुगेको थियो। प्रहरी प्रधान कार्यालयमा बसेको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को निर्णयपछि कार्यालयलाई निश्चित प्रकृतिका मुद्दामा अनुसन्धानसँगै मुद्दा अघि बढाउने अधिकार दिइएको हो।

पीसीसीको निर्णय प्रहरी अपराध अनुसन्धान विभाग हुँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेपछि कार्यान्वयनमा आएको हो। नयाँ व्यवस्थाअनुसार कार्यालयले हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, व्यक्ति बेपत्ता पार्ने, अपहरण तथा शरीर बन्धक, डाँका तथा एक करोड रुपैयाँभन्दा बढी बिगो भएका ठगी र आपराधिक विश्वासघातका साथै मुद्रासम्बन्धी कसुरमा अनुसन्धान गरी आफैं मुद्दा चलाउन सक्नेछ।

नयाँ अधिकार पाएपछि कार्यालयले पहिलोपटक अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ। एक युवकलाई अपहरण गरी बन्धक बनाएर फिरौती मागिएको घटनामा अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा हुने ठूला तथा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अपराध अनुसन्धान कार्यालयले अन्य प्रहरी युनिटबाट प्रभावकारी रूपमा अनुसन्धान गर्न कठिन हुने घटनासमेत हेर्दै आएको छ। अब अनुसन्धानसँगै मुद्दा अघि बढाउने अधिकारसमेत पाएपछि ठूला अपराधको अनुसन्धान र अभियोजन प्रक्रियाबीचको समन्वय थप प्रभावकारी हुने प्रहरीको अपेक्षा छ।

नेपाल प्रहरीका देशभर २ हजार ६ सय ६० भन्दा बढी इकाइ रहे पनि यसअघि २३१ वटा प्रहरी कार्यालयबाट मुद्दा चल्ने व्यवस्था थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई समेत मुद्दा चलाउने अधिकार प्राप्त भएपछि मुद्दा चलाउने प्रहरी युनिटको संख्या २३२ पुगेको छ।