पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले प्रहरीसँग महत्वपूर्ण विवरण मागेको छ। सर्वोच्चले श्रेष्ठलाई प्रहरीले बरामद गरेका सामानसहित आगामी भदौ १ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठकी पत्नी सरस्वतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस्तो आदेश दिएको हो। आदेशमा श्रेष्ठलाई उनको निवास तथा जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन भनिएको छ।
रिट निवेदकका तर्फबाट अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए।
श्रेष्ठलाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको थियो। थुनुवाको चाप बढी भएपछि मुद्दाको अनुसन्धान तथा अभियोजन प्रक्रियालाई सहज बनाउने भन्दै उनलाई बिहीबार बेलुकी महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ ।
अनुसन्धानका क्रममा श्रेष्ठलाई भेट्न चाहने व्यक्तिको भेटघाटलाई प्रहरीले नियन्त्रित गरेको जनाएको छ। परिवारबाट उपलब्ध गराइएका अत्यावश्यक स्वास्थ्य सामग्री भने उनलाई प्रयोग गर्न दिइएको प्रहरीको भनाइ छ।
प्रहरी स्रोतका अनुसार श्रेष्ठमाथि प्रकाशित समाचार तथा सामग्रीबाहेक अन्य विषयमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले कम थुनुवा चाप भएको प्रहरी कार्यालयमा सारिएको हो।
इलेक्ट्रोनिक्स उपकरण र वित्तीय कारोबारमाथि अनुसन्धान
श्रेष्ठसँग सम्बन्धित विभिन्न इलेक्ट्रोनिक्स उपकरणमाथि समेत प्रहरीले प्राविधिक अनुसन्धान अघि बढाएको छ। स्रोतका अनुसार उनका उपकरणहरू सामाखुसीस्थित प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण भइरहेका छन्।
यसैगरी, श्रेष्ठका विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत भएका कारोबारसमेत अनुसन्धानको दायरामा ल्याइएको स्रोतको दाबी छ।
अब सर्वोच्च अदालतको आदेशअनुसार भदौ १ गते श्रेष्ठलाई बरामद गरिएका सामानसहित अदालतमा उपस्थित गराइनेछ। त्यसपछि इजलासमा हुने सुनुवाइले उनको हिरासत तथा अनुसन्धान प्रक्रियाबारे थप दिशा तय गर्नेछ।

प्रतिक्रिया