पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै पत्रकार महासंघको धर्ना

जनआस्थाको कार्यालयमा खानतलासी

News Desk
0
Shares

पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदैछ । महासंघले श्रेष्ठलाई तत्काल र विनासर्त रिहा गर्न माग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेका पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालालाई धर्नामा सहभागी हुन आह्वान गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै श्रेष्ठको रिहाइको मागसहित आजको धर्नामा सहभागी हुन आह्वान गरेका हुन् । महासंघले पत्रकारलाई समाचार लेखेकै कारण पक्राउ गर्ने, सञ्चारमाध्यममा खानतलासी गर्ने तथा पत्रकारितासम्बन्धी सामग्रीमाथि हस्तक्षेप गर्ने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ ।

जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । प्रहरीले उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले बताएको छ ।

श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीको टोलीले बुधबार राति नै काठमाडौं प्रहरी परिसर अगाडि पुगेर विरोध जनाएको थियो । उनीहरूले पत्रकारलाई पक्राउ गरेर अनुसन्धान गर्ने प्रहरीको कदमप्रति आपत्ति जनाउँदै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका थिए ।

कार्यालयमा खानतलासी

प्रहरीले आज बिहान जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको छ । बिहान करिब ७ बजे काठमाडौंको सानेपास्थित जनआस्थाको कार्यालयमा प्रहरी टोली पुगेको थियो । कार्यालयमा प्रवेश गरेका प्रहरीले विभिन्न कागजात तथा कम्प्युटरलगायत विद्युतीय उपकरणसम्बन्धी सामग्री हेरेको र संकलन गरेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार श्रेष्ठविरुद्धको अनुसन्धानका क्रममा कम्प्युटर तथा कम्प्युटरजन्य उपकरण हेर्नुपर्ने भएकाले कार्यालयमा खानतलासी गरिएको हो । कार्यालयमा चार–पाँच जना प्रहरी भित्र प्रवेश गरेका थिए भने अन्य प्रहरी बाहिर बसेका थिए ।

प्रहरीको यो कदमप्रति पनि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले पत्रकार पक्राउ र सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासीलाई प्रेस स्वतन्त्रतासँग जोडेर गम्भीर रूपमा लिएको जनाएको छ ।

महासंघले श्रेष्ठलाई विनासर्त रिहा नगरे थप कडा आन्दोलनमा जाने चेतावनी दिएको छ । महासंघले पत्रकारलाई कानुनको दायरामा ल्याउने नाममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमा असर पर्ने गरी राज्यका निकायबाट हुने कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने जनाएको छ ।

यता, प्रहरीले भने श्रेष्ठमाथि लागेको आरोपको अनुसन्धान कानुनी प्रक्रियाअनुसार भइरहेको बताएको छ । पक्राउ र खानतलासीलाई प्रेस स्वतन्त्रतासँग मात्र जोडेर नहेर्न तथा अनुसन्धानका क्रममा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

श्रेष्ठको पक्राउपछि पत्रकार महासंघ र प्रहरीबीचको विवाद थप चर्किएको छ । आज हुने महासंघको धर्ना र त्यसपछि महासंघले घोषणा गर्ने कार्यक्रमले घटनाको आगामी दिशा तय गर्ने देखिएको छ ।