३६ घण्टापछि जीवितै उद्धार भइन् ३२ वर्षीया महिला


पश्चिमी कोलम्बियामा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पपछि भग्नावशेषमा पुरिएकी ३२ वर्षीया महिलालाई ३६ घण्टापछि जीवितै उद्धार गरिएको छ।

परेइरा सहरमा भत्किएको भवनको भग्नावशेषमुनि पुरिएकी डानिएला लार्गोलाई करिब १० घण्टाको कठिन उद्धार प्रयासपछि अग्निनियन्त्रकहरूले बाहिर निकालेका हुन्।

चारवटा ठूला कंक्रिटका स्ल्याबले थिचिएकी लार्गोसम्म पुग्न उद्धारकर्मीले दुईवटा सुरुङ खनेका थिए। माथिबाट खनिएको सुरुङमार्फत उनलाई अक्सिजन पुर्‍याइएको थियो भने तलबाट खनिएको अर्को सुरुङमार्फत उद्धारकर्मी उनको नजिक पुग्न सफल भएका थिए।

स्थानीय बासिन्दाले भग्नावशेषमुनिबाट लार्गोले सहयोगका लागि आवाज दिएको सुनेपछि उद्धार टोलीलाई खबर गरेका थिए। घटनास्थल पुगेका उद्धारकर्मीले सानो क्यामेराको सहयोगमा उनलाई पहिचान गरेका थिए।

त्यसपछि राजधानी बोगोटाबाट आएका अग्निनियन्त्रक तथा राष्ट्रिय प्रहरीको विपद् उद्धार टोलीसमेत परिचालन गरिएको थियो। लामो प्रयासपछि उद्धारकर्मीले लार्गोलाई सुरक्षित रूपमा बाहिर निकालेका हुन्।

लार्गोकी आमाका अनुसार घरमा उनकी १२ वर्षीय छोरा आमाको प्रतीक्षामा थिए। छोरी जीवितै उद्धार भएको खबरले परिवारमा खुसी छाएको छ।

कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएलाले पनि लार्गोको उद्धारलाई सामाजिक सञ्जालमार्फत आशा जगाउने समाचारका रूपमा स्वागत गरेका छन्।

भूकम्पमा १८८ जनाको मृत्यु

कोलम्बियाका आधिकारिक विवरणअनुसार शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १८८ जनाको मृत्यु भएको छ भने सयौँ मानिस अझै बेपत्ता छन्।

परेइरा क्षेत्रमा मात्रै ७९ जनाको मृत्यु पुष्टि भएको छ। कोलम्बियाली राजधानीहरूको संघ (Asocapitales) का अनुसार कालीमा ९५ जनाको मृत्यु भएको छ।

परेइरामा कम्तीमा ९२ वटा भवन पूर्ण रूपमा भत्किएका छन्। त्यहाँ १५ जना भग्नावशेषमा फसेको पुष्टि भएको छ भने थप ३७ जना बेपत्ता रहेको जनाइएको छ।

कोलम्बियाको तेस्रो ठूलो सहर कालीमा पनि सयौँ मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको छ।

विनाशकारी भूकम्पपछि उद्धार अभियान जारी रहँदा भग्नावशेषबाट जीवित मानिस भेटिने सम्भावनाले उद्धारकर्मी र प्रभावित परिवारमा आशा जगाएको छ।