कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि सम्पर्कविहीन भएपछि प्रहरीले खोजीलाई तीव्र बनाएको छ। उनको खोजीका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त ट्र्याकिङ कुकुरसहितको प्राविधिक टोली परिचालन गरिएको छ। प्रहरीले जंगल क्षेत्रमा ड्रोनबाट समेत निगरानी गरिरहेको जनाएको छ।
कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टका अनुसार गोरुसिंगे क्षेत्रको जंगलमा कुकुरसहितको टोलीले खोजी गरेको छ भने केही स्थानमा ड्रोनमार्फत निगरानी गरिएको छ। निरन्तर खोजी भइरहे पनि आइतबार बिहानसम्म सिंहको अवस्था पत्ता लाग्न सकेको छैन।
६५ वर्षीय सिंह शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए। दिउँसो साढे ३ बजेतिर उनले आफू निकटका व्यक्तिलाई फोन गरेर ‘जंगलमा बाटो बिर्सिएँ’ भन्दै जानकारी गराएका थिए।
त्यसपछि आफन्तसहितको टोली खोजीमा निस्किएको थियो। पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले प्रयोग गर्ने लु.प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा फेला परेको थियो।
प्रहरीका अनुसार चेतदराईस्थित सनसाइन सामाजिक विकास केन्द्रको सीसीटीभी फुटेजमा सिंह शुक्रबार दिउँसो करिब ३ बजेर २७ मिनेटमा रामराज पुलसम्म पुगेको देखिएको छ। त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन।
सिंहले माछापोखरी तथा कुखुरापालनका लागि फार्म निर्माण गरिरहेका थिए। सोही क्षेत्रमा जाने क्रममा उनी जंगलमा हराएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। तर प्रहरीले यही सम्भावनामा मात्र सीमित नभई अन्य सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ।
एसपी भट्टले स्थानीयबाट प्राप्त सूचना, परिवारसँगको समन्वय तथा प्राविधिक अनुसन्धानलाई समेत अघि बढाइएको बताए। उनले अनुसन्धानका सबै बाटा खुला राखेर खोजी भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया