थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको एकीकृत प्रशासनिक सेवा शिविरमार्फत दुई दिनमा १ हजार ४ सय ४२ जनाले विभिन्न सेवा लिएका छन् ।
शिविरको पहिलो दिन ५ सय ११ जनाले सेवा लिएका थिए भने दोस्रो दिन मात्रै ९ सय ३१ जनाले विभिन्न प्रशासनिक तथा अन्य सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले स्थानीय नागरिकलाई गाउँपालिकासम्म पुगेर सेवा लिनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा एकीकृत रूपमा विभिन्न सेवा उपलब्ध गराएको हो । शिविरमा गाउँपालिकाका सबै वडासँग सम्बन्धित सिफारिस, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता, मालपोत तथा राजस्वलगायतका सेवा उपलब्ध गराइएको थियो ।
दोस्रो दिन ९ सय ३१ जनाले लिए सेवादोस्रो दिनको तथ्यांकअनुसार सबैभन्दा धेरै सेवा वडा नं. १ नेलेका नागरिकले लिएका छन् । नेलेबाट १ सय २४ जनाले विभिन्न सेवा लिएका छन् । त्यस्तै वडा नं. ९ बाट १ सय १६ जना, वडा नं. ६ मुक्लीबाट ८७ जना र वडा नं. ८ देउसाबाट ८६ जनाले सेवा लिएका छन् ।
एकीकृत प्रशासनिक सेवा शिविरअन्तर्गत गाउँपालिकाले प्रशासनिक सेवासँगै राष्ट्रिय परिचयपत्र तथा ज्येष्ठ नागरिक परिचयपत्रसम्बन्धी सेवा पनि उपलब्ध गराएको छ ।
पहिलो र दोस्रो दिन गरी २ सय २५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । त्यस्तै ४६ जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
दोस्रो दिन मात्रै गाउँपालिकाका नौ वडाबाट ६ सय ६० जनाले विभिन्न प्रशासनिक सेवा लिएका थिए । यसमा राष्ट्रिय परिचयपत्र र ज्येष्ठ नागरिक परिचयपत्र वितरणसमेत जोड्दा दोस्रो दिनको कुल सेवा लिनेको संख्या ९ सय ३१ पुगेको हो ।पहिलो दिन ५ सय ११ र दोस्रो दिन ९ सय ३१ गरी दुई दिनमा कुल १ हजार ४ सय ४२ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाले उपत्यकामा बसोबास गरिरहेका आफ्ना नागरिकलाई स्थानीय तहबाटै प्राप्त हुने सेवा सहज, छिटो र एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ ।
गाउँपालिकाका अनुसार उपत्यकामा रहेका नागरिकलाई जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ दर्ता, सामाजिक सुरक्षा, मालपोत तथा राजस्व, विभिन्न सिफारिसलगायतका कामका लागि गाउँ फर्किनुपर्ने अवस्था कम गर्न शिविर प्रभावकारी भएको छ ।

प्रतिक्रिया