विश्व शान्तिको कामना र धार्मिक आस्थाको सन्देश बोकेर स्याङ्जाबाट पैदल यात्रा सुरु गरेका ५६ जना ‘बोल बम’ तीर्थयात्री सोलुखुम्बु पुगेका छन्।
दुधकुण्ड यात्राको क्रममा सदरमुकाम सल्लेरी पुगेको टोलीलाई जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले भव्य स्वागत गर्दै सुरक्षित यात्राका लागि शुभकामना दिएको छ। ‘बोल बम’ यात्राको २३औँ श्रृङ्खलाअन्तर्गत सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य दुधकुण्ड पोखरीको दर्शन तथा अवलोकनका लागि तीर्थयात्री टोली गत साउन १७ गते स्याङ्जाबाट प्रस्थान गरेको थियो। शुक्रबार बिहान सल्लेरी पुगेपछि सुरक्षा निकायले टोलीलाई स्वागत गर्नुका साथै हिमाली यात्रामा अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराएको हो।
दुर्गम हिमाली भूगोल, बदलिँदो मौसम र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज पाण्डेले तीर्थयात्रीहरूलाई विशेष अभिमुखीकरण गराएका छन्। उनले धार्मिक स्थलको पवित्रता कायम राख्न, स्थानीय वातावरण संरक्षण गर्न तथा फोहरमैला व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे।
सुरक्षा निकायले हिमाली यात्रा चुनौतीपूर्ण हुने भएकाले आवश्यक सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै उच्च मनोबलका साथ यात्रा सम्पन्न गर्न तीर्थयात्रीहरूलाई शुभकामना व्यक्त गरेको जनाएको छ।
हरेक वर्ष आयोजना हुँदै आएको ‘बोल बम’ यात्रा धार्मिक आस्था, सामाजिक सद्भाव र विश्व शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ। यस वर्षको यात्राले पनि दुधकुण्ड क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनसँगै सोलुखुम्बुको पर्यटन विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया