युक्रेनले रुसभित्र गहिराइमा रहेका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार बास्कोर्तोस्तानस्थित बाशनेफ्ट–नोभोइल (Bashneft-Novoil) र यारोस्लाभलस्थित स्लाभनेफ्ट–यानोस (Slavneft-YANOS) तेल प्रशोधन केन्द्रलाई लक्षित गर्दै आक्रमण गरिएको हो।
जेलेन्स्कीले ती आक्रमणको उद्देश्य रुसले युद्ध सञ्चालनका लागि प्रयोग गर्ने तेल आम्दानीलाई कमजोर बनाउनु रहेको बताएका छन्। उनले कालो सागर क्षेत्रमा रुसका दुई सैन्य गस्ती डुंगा तथा प्रतिबन्ध छल्न प्रयोग गरिने केही ‘छायाँ बेडा’ (Shadow Fleet) का जहाजहरू पनि निशाना बनाइएको दाबी गरेका छन्।
रुसको यारोस्लाभल क्षेत्रका गभर्नर मिखाइल एभ्राएभले युक्रेनले गरेको ठूलो ड्रोन आक्रमणपछि स्लाभनेफ्ट–यानोस प्रशोधन केन्द्रमा आगलागी भएको पुष्टि गरेका छन्। उनका अनुसार घटनामा चार जना घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियो तथा तस्बिरहरूले प्रशोधन केन्द्रबाट बाक्लो धुवाँ र आगोको मुस्लो उठेको देखाएका छन्।
उता, रुसले पनि युक्रेनमाथि व्यापक ड्रोन तथा मिसाइल आक्रमण जारी राखेको छ। युक्रेनी अधिकारीहरूका अनुसार पछिल्लो आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।
उत्तरपूर्वी खार्किभ क्षेत्रको बालाक्लिया शहरमा भएको ड्रोन आक्रमणमा निजी घरहरूमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ। त्यसैगरी लोजोभा रेल स्टेशनमा भएको अर्को आक्रमणमा दुई जनाको मृत्यु र आठ जना घाइते भएका छन्।
मध्य युक्रेनको ड्निप्रोपेत्रोभ्स्क क्षेत्रमा रुसको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।
दक्षिणी खेरसन शहरमा महत्वपूर्ण पूर्वाधारमा आक्रमण भएपछि सम्पूर्ण शहर विद्युतविहीन बनेको छ। त्यस्तै, कालो सागरको बन्दरगाह शहर ओडेसामा दुईवटा मालवाहक जहाजमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ।
रुसी सेनाले भने रातभर देशका विभिन्न क्षेत्रमा युक्रेनले प्रहार गरेका ६०५ वटा ड्रोन खसालिएको वा अवरोध गरिएको दाबी गरेको छ। साथै युक्रेनका इन्धन, ऊर्जा, यातायात पूर्वाधार र ड्रोन भण्डारण स्थलहरूमा सफल आक्रमण गरिएको जनाएको छ।
सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेयता दुवै पक्षले ऊर्जा पूर्वाधार, सैन्य लक्ष्य र रणनीतिक संरचनामाथि आक्रमणलाई तीव्र बनाएका छन्। पछिल्ला साताहरूमा युद्धको अग्रमोर्चा खासै परिवर्तन नभए पनि दुवै देशले एकअर्काको भित्री क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमण बढाउँदै लगेका छन्।

प्रतिक्रिया