नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा देखिएको विवाद तत्कालका लागि साम्य भएपछि सत्ता साझेदार नेपाली कांग्रेस सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ।
मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा एमालेभित्र सहमति नहुँदासम्म मौन रहेको कांग्रेसले विवाद समाधान भएसँगै सरकारबाट बाहिरिने निर्णय गरेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीबीच छुट्टाछुट्टै तथा संयुक्त छलफलपछि तत्कालका लागि हिक्मत कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको स्रोतले जनाएको छ।
सहमतिपछि नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापाले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले एक–दुई दिनभित्र राजीनामा दिएर सरकारबाट बाहिरिने जानकारी दिए।
हाल कोशी प्रदेशमा एमाले–कांग्रेसको संयुक्त सरकार रहेको छ। कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सरकारमा सहभागी छन्।
केन्द्रमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश सरकारमा सत्ता साझेदारी सम्बन्धी तीनबुँदे सहमति भएपछि कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने समझदारी बनेको थियो। तर, मुख्यमन्त्री परिवर्तनको विषयमा एमालेभित्र विवाद चर्किएपछि सरकार पुनर्गठन प्रक्रिया लामो समयसम्म रोकिएको थियो।
पार्टी अध्यक्ष ओलीको निर्देशनमा हिक्मत कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी अघि बढे पनि कार्कीले पद नछाड्ने अडान लिएपछि विवाद उत्पन्न भएको थियो। सोही कारण केन्द्रको सहमति कार्यान्वयन हुन नसकेको अवस्थामा अहिले विवाद तत्कालका लागि समाधान भएको र सरकार पुनर्गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया