अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सम्पूर्ण कार्यकारी निर्देशकसँग वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे विशेष छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार बैठक बिहान ९:१५ बजे मन्त्रालयको सुवर्ण हलमा बस्नेछ। बैठकमा देशको समष्टिगत आर्थिक अवस्था, वित्तीय क्षेत्रका चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत समीक्षा गरिनेछ।
यो छलफल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग हुने नियमित समन्वय बैठकभन्दा फरक प्रकृतिको हुने जनाइएको छ। पहिलो पटक राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग प्रत्यक्ष संवादमार्फत अर्थतन्त्रको वास्तविक अवस्थाबारे विस्तृत जानकारी लिने तयारी गरिएको हो।
छलफलमा मौद्रिक नीति कार्यान्वयन, बैंकिङ क्षेत्रका चुनौती, वित्तीय प्रणालीको अवस्था तथा उपलब्ध मौद्रिक उपकरणहरूको प्रभावकारी प्रयोगमार्फत अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायबारे केन्द्रित भएर विचार–विमर्श हुने बताइएको छ।
अर्थ मन्त्रालयले नीति निर्माण तथा नियमनको व्यावहारिक पक्षमा प्रत्यक्ष संलग्न अधिकारीहरूसँगको अन्तरक्रियाले आगामी आर्थिक तथा मौद्रिक नीतिगत निर्णयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया