अरनिको राजमार्गमा पहिरो

कोदारी नाका जोड्ने सडक पूर्ण अवरुद्ध


अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङ क्षेत्रमा मंगलबार बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार बिहान करिब ९:३० बजे खसेको पहिरोले सडक अवरुद्ध बनाएपछि चीनसँग जोडिएको प्रमुख व्यापारिक नाका कोदारीतर्फको आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

प्रहरीका अनुसार सडकको एक भाग भासिएको छ भने माथिबाट माटो हटाएर सडक खुलाउने अवस्था नरहेको छ। सडक सञ्चालनका लागि वाल (रिटेनिङ वाल) निर्माण गरी सडकलाई सुरक्षित बनाउनु आवश्यक भएकाले तत्काल यातायात सञ्चालन गर्न कठिनाइ भएको जनाइएको छ।

पहिरो हटाउने तथा सडक पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको भए पनि सडक खुल्ने समयबारे भने अझै यकिन जानकारी प्राप्त भएको छैन। यस घटनाले चीनसँगको आयात–निर्यात तथा अन्य आवागमनसमेत प्रभावित भएको छ।