देशभर मनसुनी प्रभाव कायम

भारी वर्षाको सम्भावना


देशभर आज पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

देशका पहाडी भू-भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि वर्षाको सम्भावना

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गर्दै सुरक्षित रहन सबैलाई अनुरोध गरेको छ।