सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। बैठकमा आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेशदेखि भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश गर्नेछिन् ।
त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गर्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथि छलफल हुनेछ। प्रस्तावमा वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण, सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको सुनिश्चितता, उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापना तथा यथाशीघ्र लालपूर्जा वितरणको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ।
उक्त प्रस्तावका समर्थक सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई रहेका छन्।
यसैबीच, आज सङ्घीय संसद्अन्तर्गत पाँच वटा संसदीय समितिको बैठक पनि बस्दैछ।
अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ, जहाँ नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन सम्बन्धी विधेयकमाथि दफावार छलफल जारी रहनेछ।
अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयक, २०८१ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्नेछ।
उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरेको छ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनःस्थापना सम्बन्धी विधेयक, २०८३ माथि सैद्धान्तिक तथा दफावार छलफल गर्नेछ। समितिले कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि पनि छलफल गर्नेछ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले समितिका पूर्वसभापति रामनारायण विडारीसँग सरकारी आश्वासन कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया